मेरी किराती आमा
Submitted by root on Tue, 05/26/2009 - 21:48
in
एक खाँट्टी किराती आइमाइ
मेरी आमा
मनुवा-दहको सप्फा तरल ऐनामा
सृष्टिको सौन्दर्य देख्नसक्ने संवेदनाको औतार
सुम्निमाको सन्तान/अनि
पशुत्व र मान्छेत्वको अनन्त द्वन्दलाई
सेकमारी फूल र ओन्दोङ फूलको कलशहरूमा
जोखना हेर्दै
चुपचापसुर्ताले सुकिरहेकी तिगेञ्जोङनाकी
नातिनी मेरी आमा
तरुणी छँदा लामो केशमा
लहरे फूल लाच्छा भएर लहरिन्थ्योरे
दुबोको हरियो चउरको चौबन्दी बाँधेर
अनि फूलहरू फुटिनिस्केका
धरतीको पन्ध्र हाते फरियामा बेह्रिएर
उर्वर धरतीको एक टुक्रा हिँडथिनरे उनी ।
बारीमा आफैले फलाएको कोदोलाई
उत्साहको जाँड बनाई छिप्पाउँथिन
अनि सुत्केरीमा त्यै खाएर तीन दिनमै तंग्रिन्थिन
उत्साह र टको त्यै अमृत
उनको स्तनबाट चुसेर म हुर्केँ ।
नाबालक मला कोक्रोमा बोकी
काम गर्दै मीठो स्वरमा पेरेङवा साम्लो गाउँथिन् आमा
र त्यै साम्लो सुनेर निँदाउँथेँ म ।
ज्वरोले सपनाहरू डढाउँन खोज्दा
अर्थात टाउको दु:खेर विपनाहरू बाङ्गिन थाल्दा
मेरी आमा उनैको कथाकी चरी भएर
मलाई चिम्फिङ-खानाक्पा खुवाउँथिन्
अगाध स्नेहको अबिजाल झोल पिलाउँथिन
भविष्य निरोगी होस् भनेर/कहिले
एकाबिहानै बिखुमाको टुक्रा निल्न दिन्थिन्
अक्षर नचिन्ने आँखाले हेरेरै
साँझपख डुलि हिँड्ने सामहरू चिन्ने गर्थिन्
त्यसैले साँझ परेपछि सुसेली नमार्नू
छो छो गरेर मात्रै खानेकुरा खानू भन्थिन्
अक्षर नचिन्ने तिनै चिम्सी आँखाले
रातका रहस्यहरू पढथिन्
बिहानै माङहरुसित बात मार्थिन्
सुकेको तितेपाती धुपौरोमा हालेर धुप मगमग बाल्थिन्
युमा पज्थिन्
अझै पुज्छिन्
युमा पुज्दा पुज्दा
मेरी किराती आमा
अब आफै युमा भइसकिन्
मन प्रसाद सुब्बा
- man prasad subba(2008-12-12)
Navigation
editorial
Interview
Poll
Bullion
Rs. 24135.00
Rs. 24135.00
Rs. 356.00












