सेवारो है सेवारो

in

समय तिम्रो कित्तामा फर्केको ठान्दैमा
वा तिमीले एकलौटी इच्छा गर्यौ भन्दैमा,
भाषाको कुराले
धर्मको कुराले
र जातको कुराले
तिमी कदापी विभाजित हुन सक्दैनौ नेम्वाङ्ग दाई !
मैले पनि तिमीसँग-
रात-रातभरि च्याब्रुङ नाचेकै हो ।
हामीले साझा सम्झेका
संगिनी र रत्यौलीमा
हाम्रो संसार चलेकै थियो,
तर कहाँबाट आयो यो रंगभेदको कुरा
कताबाट आयो यो आदि र अनादिका कुरा
कसरी आयो यो भूगोल विभाजनको कुरा
सत्य कुरालाई किन लुकाउनु र हामीले,
समुसुद्धिनले युद्धताका उपहार दिएको
हाम्रो मोही र गुन्द्रुकलाई
मेरा पुर्खाले तिम्रो भाते जाँडसँग साटेकै हुन् ।
एक पाथी कोदोको रक्सीमा
एक कित्ता किपट हत्याएको कुरा लिएर
अथवा शकुनी दाउमा जुवा खेलेर,
सिंगै थुम्को हत्याएको कुरा साँधेर
किन सधै अत्तो थापिरहन्छौ इङ्नामदाइ
धर्ती लुटेर सम्पन्न हुन्छु भन्नेहरु,
अन्नतः आफै धर्तीबाट लुटिएका छन् ।
तिमीले कुल्चेको माटो र मेरा पुर्खाले टेकेको भूमि एउटै हो ।
सदियौ देखि म पनि सुकुम्वासी नै छु ।
पहिले मुगल राजाले डसे
अलि पछि आएर
गोरखा र लिम्बुवानका सामान्तबाट उठिबास हुँदै,
पहाडबाट समेत खेदिएर
मुगलानबाट पनि लखेटिंदै
पुनः म शरणार्थी भएर
फेरि यसै देशमा फर्किएको छु ।
यता र्फकनुमा मलाई,
मेरा पुर्खाको माटोले तान्यो,
बाजेले पुजेका,
देवी देउरालीका साइनोले तान्यो,
जोड्दै जाने हो भने
धेरै साइनाहरु छन् हाम्रा तिमीसँग
भावनाको साइनो कहिले काँही,
रगतको भन्दा पनि गाढा हुदो रहेद्धछ मादेनदाई !
विर्सका छैनौ भने,
तिम्रा बाका मलामीलाई
हामीले खुवाएको दही, चिउराको साइनो छ हाम्रो ।
मेरा बालाई बैतरनी तराउन,
तिम्रो बाले सित्तैमा दिएको बाछाको सम्बन्ध छ हाम्रो ।
बदमासी आ-आफना होलान्
स्यावासी आ-आफ्ना होलान्
सात सालमा तिम्रो सगोत्रीले उठिबास लगाउँदा पनि,
मैले कहिल्यै तिमीलाई दुखेसो गरिन,
अलि पछि नाक र आँखाको विभाजन कोरिएपनि-
मैले कहिल्यै ननिको ठानिन ।
मात्रै मन बुझाउँन-
मात्र चित्त बाँधिरहन-
म पनि सधै कहा सक्छु साँवाभाइ
आँखिर हाम्रा आमाहरु मिलेर,
रत्यौली खेलेको पनि साँचो हो ।
संक्रान्ति र मदन मेलामा,
धान नाचेको पनि सा�चो हो ।
एक्कासी अहिले आएर पराय अरु कसैले,
विद्यटनको खेल खेल्छ भन्ने लागेकै थिएन ।
तिमी-हामीलाई जुधाएर,
तमासा हेर्छ भन्ने सोचेकै थिएन ।
सोच है सोच केरुङ्ग भाई !
पानी बगे पछि फेरि र्फकदैन ।
मात्र सम्झना बनेर -
बगर रोइरहन्छ किनारमा ।
नराम्रोलाई विर्सन -
राम्रोलाई सम्झन निको लागेर नै,
मैले हाम्रा धेरै कुराहरु सम्झे ।
पखालाले सताएकै बेला पनि,
कान्ला बिगारेर हाम्रा बाहरुले,
संगै देउसी खेलेको सम्झे ।
देउसी कै भेटी उठाएर,
हामी पढ्ने स्कूलको छानो छाएको कुरा सम्झे ।
खाँडो जगाउन खप्पिस त्रि्रा बा,
अनि सिलोक फट्कार्न सिपालु मेरा बा,
संगसंगै जन्ती गएको सम्झे ।
मन्त्र फुकेर सिकारी मन्साएको साइनो होस् ।
वा दुइ इन्ची खुकुरी भसाउंदा समेत,
ख्याल-ख्यालै ठानेर-
दुइ गिलास रक्सीमै मिलेको साइनो होस्-
ज्यूँका त्यूँ छ अहिले पनि ।
कहा मेटिएको छ र हाम्रो साइनो !
अहिले आएर तिमीले,
विदेश किन्यौ भन्दैमा,
हाम्रो सम्बन्धलाई म कसरी विट मार्न सक्छु र थेवेदाई ?
लुकाउने कुरा नै के पो बाँकी छ र ?
नांङ्गो मान्छेसँग बचेको नै के पो हुन्छ र ?
हामी सबैले मान्दै आएको,
हलेसी महादेव र पाथीभरा देवीलाई,
तिमी हामी सबैले मानेकै हौं ।
तिम्रा उघौलि, उभौली र बुढीबजु ,
अझै पनि मैले मानेकै छु ।
सिमेभूमे र सगुनेले पनि
सुब्बे फाब्बे नै भएको छ ।
अहिले आएर सानो कुरामा,
किन कुरूक्षेत्र मच्चाउछौ श्रवणभाई ?
मन्त्र साट्नु चानचुने कुरा हुनै सक्दैन,
देउता साट्नु सानो कुरा हुँदै होइन,
हामीले आपसमा देउता पनि साटेको छौं ।
तिमीले बिर्सेको ज्ञान -
तिमीले सम्झन छोडेको तिम्रै भाषा,
समयको जोर विजोरमा,
तिमीले भुल्नै लागेको हाम्रो साइनो,
एउटै मुन्धुमले ठिक पार्न सकिन्छ अव ।
जोखाना हेरिरहन जरुरी नै छैन अव ।
आउ म मन्त्र फुकिदिन्छु त्रि्रो कमजोर आँखालाई ।
मसंग तिम्रो हजुरबाले मर्नु एकदिन अघि सिकाएको,
तिम्रै भाषाको फूलो झार्ने शक्तिशाली मन्त्र छ ।
सेवारो है मादेन भाइ सेवारो !
सेवारो है नेम्बाङ्ग दाइ सेवारो !!
- clicksnepal.com(2008-12-12)