कोसीमा पानीको सतह घट्यो

in

सुनसरी, असार २१ - एक सातादेखि पूर्वी पहाडी क्षेत्रमा अविरल वर्षा भएकाले सप्तकोसी नदीमा बढेको पानीको प्रवाह शनिबारदेखि घटेको कोसीब्यारेज मापन केन्द्रले जनाएको छ । साताको लगातार वर्षाका कारण शुक्रबार बिहानदेखि नै पानीको प्रवाह बढेको र ४ बजेसम्ममा पानीको प्रवाह १ लाख ९० हजार ५ सय ४६ क्युसेक प्रतिसेकेन्डपुगेकोमा शनिबार दिउँसो ४ बजे प्रवाह १ लाख ४० हजार क्युसेक प्रतिसेकेन्डमा झरेको केन्द्रले जानकारी दिएको छ । गत वर्ष भदौ २ गते सुनसरीस्थित पश्चिम कुशाहा ४ मा रहेको पूर्वी तटबन्ध भत्ँिकदा पानीको प्रवाह १ लाख ६७ हजार क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेकोमा शुक्रबार एकाएक २४ हजार क्युसेक पानी बढेर १ लाख ९० हजार ५ सय ४६ क्युसेक प्रतिसेकेण्ड प्रवाह भएको थियो ।पानीको प्रवाह बढेपछि सुनसरीमा गत वर्ष विस्थापित भएका त्रसित बनेका थिए । कोसी नदीमा पानी बढेका कारण प्रकाशपुर राजावासस्थित एक स्परमा पानीलेछोएका कारण सो स्पर पनि खतरामा रहेको स्थानीय बाबुराम कार्कीले जानकारी दिनुभएको छ । शुक्रबार कोसी ब्यारेजस्थित दुई नहरका ४ ढोकासहित ३० ढोका मात्र खोलिएको थियो भने शनिबार पानीको चाप कम भएकाले ४ ढोकासहित १४ वटा ढोका मात्रखोलिएको जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय विराटनगरले जानकारी दिएको छ ।